Skip

Hamro Sanchar

मध्यपूर्वको तनावप्रति ओलि, प्रचण्ड र गगनको दलको चिन्ता

नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई आग्रह गरेको छ।

अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन्। त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ। जसले गर्दा मध्यपूर्वको जनजीवन प्रभावित भएको छ।

त्यसलाई लिएर प्रमुख तीन दलको नेतृत्वले सरकारको ध्यानाकर्षण गराएका हुन्। कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत मध्यपूर्वको तनावपूर्ण स्थितिले चिन्तति बनाएको जनाएका छन्।

‘मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ। विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन संवेदनशील बनेको छ,’ थापाले भनेका छन्, ‘यो परिस्थितिबारे सुसुचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा अनुरोध गर्दछु। सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला।’

नेपालीको सुरक्षाका लागि ध्यान दिन थापाले सरकारलाई पनि आग्रह गरेका छन्। ‘म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु,’ उनले भनेका छन्।

त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनावले चिन्तित भएको जनाएका छन्, ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,’ ओलीले भनेका छन्।

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। ‘यूएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु,’ ओलीले भनेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेका छन्। ‘इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ। यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्।

उनले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्। ‘यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो,’ प्रचण्डले भनेका छन्, ‘विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु।’


प्रतिकृया दिनुहोस्