Skip

Hamro Sanchar

प्रत्यक्ष कार्यकारीको माग पूरा भएको छैन, संविधान परिमार्जन गर्छौँ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन् ।

आज रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड त्यो मुद्दा चुनावपछि संविधान संशोधन गरेर पूरा गर्ने बताएका हुन् । ‘देश अहिले जहाँ छ, हाम्रै संघर्ष, हाम्रै योद्धाहरूको बलिदानका कारण छ,’ प्रचण्डले भने, ‘हामी सुरुदेखि नै प्रत्यक्ष कार्यकारी प्रमुखको आवाज उठाउँदैआएका हौँ त्यो अझै पूरा भएको छैन ।’

यस्तै नेकपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नै अडिग रहेको उनले बताए । उनले अगाडि भने, ‘हामीले यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली खोजेकै होइन । हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत आम नेपालीको अभिमतलाई सम्मान गर्न चाहेका हौँ । त्यो गर्न बाँकी छ ।’

अब निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रचण्डले बताए । ‘हामीले यो निर्वाचनपछि संसद्बाट जेनजी युवाहरूले भनेको जस्तै भ्रष्टाचारविरुद्ध र संविधान परिमार्जन गरेर विकसित गर्ने कुरामा प्रतिबद्ध छौँ,’ उनले भने ।

यसका लागि नयाँ अभियान र दह्रो अडानको आवश्यकता रहेको उनले बताए ।

यस्तै आफूले यो निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहीत र भयरहीत ढंगले सम्पन्न होस् भन्ने चाहेको उनले बताए । ‘त्यसरी मात्रै नेपाली जनताको विजय सुनिश्चित गर्न सकिन्छ,’ प्रचण्डले भने ।


प्रतिकृया दिनुहोस्