
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले मुलुकलाई फेसबुक र एआईको भर्चुअल दुनियाँबाट चल्ने शासक नभई धरातलमा पसिना बगाउने वास्तविक सेवकको खाँचो रहेको बताएका छन्।
सुनसरी क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले भने, ‘हामीलाई एआईबाट चल्ने प्रधानमन्त्री होइन, धरातलमा काम गर्ने सेवक चाहिएको छ। देश सङ्कटमा हुँदा भूमिगत हुने र सामाजिक सञ्जालमा मात्रै देखिनेहरूबाट देश बन्दैन। माटो जोगाउन सडकमा उत्रने हर्क साम्पाङलाई चिन्नुहोस्।’
प्रमुख राजनीतिक प्रतिस्पर्धीहरू बालेन शाह र रवि लामिछानेको कार्यशैलीप्रति कडा कटाक्ष गर्दै साम्पाङले सङ्कटका बेला जिम्मेवारीबाट पन्छिनेहरूले देशको नेतृत्व गर्न नसक्ने जिकिर गरे। जेनजी आन्दोलन र देशको अस्थिरताका बेला अन्य नेताहरू सामाजिक सञ्जालमा सीमित हुँदा आफू भने जनताको अभिभावक बनेर सडकमा उभिएको उनको दाबी छ।
साम्पाङले माटो र श्रमलाई बिर्सिएकै कारण देशको अर्थतन्त्र जर्जर बनेको बताए।
‘पुराना दलले उद्योग बेचे, नयाँ दलले सपना मात्र बेचे,’ उनले भने, ‘अब हामी आफ्नै सफ्टवेयर बनाउँछौँ, आफ्नै पौरखले देश बनाउँछौँ।’
मेयरका रूपमा आफूले धरानमा २ अर्बभन्दा बढीको सम्पत्ति श्रमदानबाटै जोडेको फेहरिस्त प्रस्तुत गर्दै राईले अब यही मोडल देशैभर लागू गर्ने बताए। केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड जस्ता पुराना नेताहरूलाई ‘परीक्षित र असफल’ भन्दै अबको विकल्प श्रम संस्कृति पार्टी मात्रै रहेको उद्घोष गरे।
उनले भने, ‘मलाई सांसद मात्र बनाउन खोजेको होइन, यो चुनावले देशको प्रधानमन्त्री को हुने भन्ने तय गर्नेछ। त्यसैले साँचो बोल्ने र साँचो सुन्ने हिम्मत गरौँ।’
उनले आफ्नो पार्टी कुनै पनि विदेशी शक्तिले लगानी गरेर ल्याएको पार्टी नभएको समेत भन्न भ्याए। उनले विदेशीलाई ढोगेर सरकारको नेतृत्व आफूले नगर्ने तर जनतालाई सधैँ ढोग्न तयार रहेको बताए।
उनले अन्तरिम सरकारको प्रमुख बन्न नदिएको बारेमा असन्तुष्टि जनाउँदै भने, ‘मलाई अन्तरिम सरकारको प्रमुख बनाइएको भए, प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गराइदिन्थेँ तर सरकार प्रमुख बन्न दिएनन्।’
आफूले गराएर देखाइदिने भए पनि सरकार प्रमुख बन्न नदिएको उनको भनाई छ।
श्रम संस्कृति पार्टीका निर्वाचित पार्टीका जनप्रतिनिधिहरूले भ्रष्टाचार गरे जुत्ताले हान्न भन्दै भ्रष्टाचार नगर्ने सुनाए।
‘हाम्रो श्रम संस्कृति पार्टीका प्रतिनिधिले कुनै पनि भ्रष्टाचार गरेको पाइए चोकमा बाँधेर जुत्ता हिर्काउनु होला,’ उनले भने, ‘यदि मैले पनि भ्रष्टाचार गरेको पाउनु भयो भने देशभरका ३ करोड जनताले जहाँ भेट्नु हुन्छ त्यहीँ कालो मोसो दलेर जुत्ताले हाने हुन्छ।’
उनले हप्तामा ३ दिन मात्रै विद्यालय लगाउने उनको पार्टीको धारणा रहेको सुनाए। ३ दिन विद्यालय लगाउने बाँकी दिन उत्पादन, निर्माण र आविष्कारका कामहरू गर्नु पर्ने योजना सुनाए। आफ्ना बालबच्चालाई किताबको भारी सहितको भरियाको जीवन बिताई रहेको उल्लेख गर्दै उत्पादनसँग शिक्षा नीति जोडेर लग्नु आफ्नो मुख्य एजेन्डा भएको बताए ।












