Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुम्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १३ गते


Advertisement

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले सांसद पद गुमाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले बुधबार (फागुन १३)शर्मालाई सांसदबाट हटाइएको सूचना जारी गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलले गएको माघ २५ गते प्रदेशसभा सचिवालयलाई पत्रचार गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (१) बमोजिम शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी गराएको थियो।

सचिवालयले उक्त सूचना कर्णाली प्रदेशसभा सभामुखसमक्ष पेस गरेको थियो । यस्तो सूचना प्राप्त भएपछि १५ दिनभित्र सम्बन्धित सभालाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

तर, कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका निम्ति स्थगन भएको अवस्थामा प्रदेशसभा नियमावली, २०८१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम सभामुखको निर्देशनानुसार शर्मालाई हटाइएको सूचनामा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनानुसार दलत्याग वा निष्कासनको अवस्थामा संसद्रप्रदेशसभामा सदस्यको पदसम्बन्धी निर्णय सम्बन्धित संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार हुने व्यवस्था छ ।

शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा सक्रिय छन् ।


प्रतिकृया दिनुहोस्