Skip

Hamro Sanchar

मत माग्दै पुनको प्रतिबद्धता : रोल्पाली युवालाई रोजगार बनाउने अभियानमा लाग्नेछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १३ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उँचो पार्ने काम गरेको दाबी गर्दै आगामी दिनमा पनि यसलाई कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सामाजिक सञ्जालमार्फत भिडिओ अपिलमार्फत मत माग्दै उनले रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग हुने कुनै काम नगर्ने विश्वास दिलाएका हुन्।

नेता पुनले भिडिओ अपिलमा जनप्रतिनिधिका रूपमा आफूले रोल्पा जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे विस्तारमा चर्चा गरेका छन्। उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको उल्लेख गरेका छन्।

यस्तै जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ शय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिंचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको जानकारी पुनले गराएका छन्।

‘रोल्पाको सडक सञ्जाल विस्तार गर्नका लागि मदन भण्डारी लोकमार्ग होस् वा सहिद मार्ग निर्माण र कालोपत्रे गर्ने मैले खेलेको भूमिका यहाँहरूलाई थाहा छ। जिल्लाभरि नै उदाहरणीय विद्यालय भवन भनेका छन्। शिक्षामा गुणस्तर वृद्धि भएको छ। संघीय र स्थानीय सरकारको साझेदारीमा १० वटै पालिकाका प्रशासनिक भवनहरू संघीय र स्थानीय सरकारको साझेदारी करिब बनिसकेका छन्। सबै पालिकामा १०र१५ बेडका अस्पताल बनेका छन्। केही बन्ने प्रक्रियामा छन्। ०६२र०६३ सालको जनआन्दोलन जतिबेला शान्ति प्रक्रिया सुरु भएको बेला १२ प्रतिशत विद्युतीकरण भएको जिल्लामा आज ९० प्रतिशत बढी विद्युतीकरणको भएको छ’, उनले भनेका छन्।

यस्तै उनले तटबन्ध, नदी नियन्त्रण, सहर बजार, गाउँ, किसानका खेतहरूको संरक्षण भएको, खेलकुदका पूर्वाधार थवाङ, लिबाङ, माडीचौर पुत्लाचौर लगायतमा रंगशाला निर्माण भएको, जिल्लामा सरकारी कृषि क्याम्पस, बहुप्राविधिक शिक्षालय स्थापनाको काम भएको बताएका छन्।

यस्तै सदरमुकामस्थित उच्च मावि र जिल्लाभरका विद्यालयमा स्मार्ट अध्यापन, छाबत्रावास र भवनजस्ता पूर्वाधार निर्माणमा पर्याप्त काम भएको उनले उल्लेख गरेका छन्।

भिडिओमा उनले अगाडि भनेका छन्, ‘गाउँपालिका र वडाहरुमा पुग्ने सडक सञ्जाल विस्तार भएका छन्। हामी शान्ति प्रक्रिायमा आउँदा सदरमुकाममा धुले सडक थियो। आज ७२ वटै वडाहरूमा माह्रैमास गाडी पुग्ने अवस्था बनेको छ। कुनै बेला थबाङको आलु ५ रुपैयाँ किलोमा बिक्री हुँदैनथ्यो, आज पोखरा र बुटवलका बजारहरूमा पुगिराखेको छ। आफ्नै खेतबारीबाट लाखौँका आलु, सिमी, तरकारी बिक्री गर्ने व्यवस्था भएको छ। एकै किसानले १०औं लाख र एकै गाउँबाट ५ करोडसम्ममको सुन्तला बिक्री गर्ने अवस्था बनेको छ। सडक सञ्जालका कारणले यो भएको छ। प्रत्यक्षरअप्रत्यक्ष रोजगारी सिर्जना भएको छ। सबै जसो बालबालिका विद्यालय पुग्ने अवस्था बनेको छ।’

यस क्रममा नेता पुनले ६ सय सहिदका परिवारका लागि सुरक्षित जस्तापाताको छाना व्यवस्था गर्ने अभियान आफूले नै चलाएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘जिल्लाका ४६ हजार घरपरिवारमध्ये आधाजसो फुसको छाना थियो। फुसको छाना विस्थापित गर्ने अभियानअन्तर्गत अहिले लगभग धेरैजसो फुसको छाना विस्थापित भएको छ। लिफ्टबाट सिँचाइ र खानेपानी पुगेको छ।’

जनयुद्ध र जनआन्दोलनमा अतुलनीय योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रूपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

‘रोल्पालाई राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछु। राष्ट्र निर्माणमा, राष्ट्रिय स्वाधीनतामा, देशको समृद्धिमा युवाहरूलाई रोजगाररस्वरोजगार बनाउने अभियानमा लाग्नेछु। विगतमा आर्थिक र पूर्वाधार क्षेत्रको मन्त्रीका रुपमा काम गर्दाको अनुभव पनि छ। रोल्पाको लागि मात्र नभई देशको विकास र स्वाधीनताको लागि नेतृत्व गर्ने मेरो संकल्प र बचनबद्धता रहनेछ’, उनको प्रतिबद्धता छ।

उनले आफू निरन्तरको त्याग, बलिदान र संकल्पसहितको शक्ति भएको दाबी गर्दै हावाहुरी, बिनाविचार, बिनासिद्धान्त बिनाइतिहास र बिनापृष्ठभूमिका शक्ति या व्यक्तिको पछि कोही पनि लाग्न नहुने सुझाव पनि दिए ।


प्रतिकृया दिनुहोस्