Skip

Hamro Sanchar

महेश बस्नेतले भने : पहिले जित्दा विकासको आँधी ल्याएँ, फेरि जिताउनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर२ मा २०७४ मा आफू निर्वाचित हुँदा विकासको आँधीबेहरी ल्याएको दाबी गरेका छन् ।

यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले मतदातासँग मंगलबार भेटघाट गर्दै फेरि जिते अधुरा काम पूरा गर्ने बताएका हुन् ।

‘२०७४ सालको निर्वाचनमा भक्तपुर-२ का तपाईँ मतदाताहरूले मलाई मत दिएर विजयी गराउनुभयो । त्यो जितपछि पहिलो पटक विकासको आँधीबेहरी ल्याएँ,’ बस्नेतले भने, ‘बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्की बनाएँ । सबै खोलामा पुल बनाएँ, मठ-मन्दिर, सम्पदा पुर्ननिर्माण भए ।’

भूकम्पले भत्किएका विद्यालयहरू पुनर्निर्माण पनि आफू सांसद भएकै बेला भएको उनले दाबी गरे । उनले अगाडि भने, ‘म पदमै नहुँदा पनि भूकम्पबाट घरबारविहीन भएकाहरूलाई छतको व्यवस्था गरेँ ।’ अहिले पनि त्यसैगरी जनताको सेवा गर्न आएको बस्नेतले बताए । ‘म सेवा गर्न आएको हुँ, शासक बन्न होइन,’ उनले भने ।

०७४ देखि २०७९ सम्म आफू सांसद हुँदा सुरु गरेका विकास कैयौँ काम अझै अधुरा रहेकाले ती काम पूरा गर्ने अवसर दिन बस्नेतले मतदातासँग आग्रह गरे । उनले भने, ‘विगतमा पूरा गर्न बाँकी रहेका केही काम अझैँ अधुरा छन् । ती काम पूरा गर्न म फेरि पदमा पुग्नुपर्छ । भक्तपुरको विकासलाई पूर्णता दिन एकपटक फेरि जिताइदिनुस् ।


प्रतिकृया दिनुहोस्