
काठमाडौं । कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित गणेश हिमाल माध्यमिक विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमसँगै ४३औं अभिभावक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
शनिबार विद्यालय परिसरमा एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका व्यवस्थापक दिनेश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वडाअध्यक्ष प्रकाश फुयाल, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष डिएम महत्व, प्रधानाध्यापक पुष्करराज नेपाल, छिमेकी विद्यालयका संचालक तथा कर्मचारी, जनप्रतिनिधि र शिक्षासँग सम्बन्धित विविध व्यक्तित्वहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रममा अतिथिहरू र वक्ताहरूले विद्यालयले छोटो अवधिमा अभिभावकहरूको विश्वास जित्न सफल भएको, गुणस्तरीय शिक्षा प्रदान गरेको तथा नगरपालिका र वडा कार्यालयसँग प्रभावकारी समन्वय गरेको साथै विद्यालयले पाठ्यपुस्तकीय शिक्षासँगै खेलकुद र विविध अतिरिक्त क्रियाकलापलाई पनि निरन्तर रूपमा समायोजन गरी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका खेलेको भन्दै विद्यालयको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि प्रशंसा गरे ।
विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम नृत्य, नाटक, तेक्वान्दो प्रदर्शन तथा शैक्षिक प्रस्तुति मार्फत कार्यक्रममा रोमाञ्चकता थपेका थिए । त्यस्तै, यसै अवसरमा एसईई परीक्षा उतिर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
विद्यालयले शिक्षासँगै खेलकुद, रक्तदान तथा रचनात्मक कार्यमा पनि काम गरिरहेको छ ।
विद्यालयमा हाल झन्डै एक हजारको विद्यार्थी अध्ययनरत छन् ।


















