Skip

Hamro Sanchar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास निषेधाज्ञा जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २९ गते


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको हो।

विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रशानसनले सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ती र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको पनि बताएको छ।

त्यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम भने नभएको विज्ञप्तीमा उल्लेख छ।

ुनिर्वाचन आचार संहिता लागु भईसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् साँस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रुपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, (याली, भेलाजम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ, विज्ञप्तीमा भनिएको छ।

निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्