
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको जिकिर गरेका छन्।
काठमाडौँ-२ बाट उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे।
‘अहिले भर्खरैको यहाँ सानो अवरोध गर्ने प्रयास गरेको कुरा पनि मैले सुनिसकेको छु। मेरो जानकारीमा आएको छ। हाम्रो ज्ञानबहादुर शाही माथिको अवरोध गर्ने प्रयासका कुराहरू यी सबै जानकारीमा आएको छ,’ लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ।’
उनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको पार्टी भएका उल्लेख गर्दै जिस्काउने काम नगर्ने चेनावनी दिए। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी होइन। कसैको जुठो कुरो खाएर विदेशीहरूको आशिर्वादबाट बनेको पार्टी होइन। नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो र त्यस प्रकारका सबै चुनौतीहरूको सामना गर्ने सामर्थ्यका साथ तयार भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु।’
व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरे। सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको लिङ्देनको आरोप थियो। ‘नेपाल सरकारले अहिले जुन ढंगले दुर्गा प्रसाईंमाथि पटक पटक अवरोध सिर्जना गर्ने, पकड्ने, दुःख दिने काम गरेको छ त्यो नियतवसै जुन काम गरेको छ, उनलाई नि निष्क्रिय बनाउन अथवा उनलाई निरुत्साहित बनाउन त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्तसना र निन्दा गर्न चाहन्छ,’ उनले भने।
संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गरे।
‘कसैलाई भेला हुने, हिँड्ने, डुल्ने आफ्नो कुरा भन्ने अधिकारबाट रोक्न सकिने व्यवस्था यो संविधानमा छैन। यो संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र विरोधको सुविधा समेत संविधानले सुनिश्चित गरेको छ,’ उनले भने, ‘अहिले कुनै पनि नागरिकले यो निर्वाचन उपयुक्त छैन, यो निर्वाचनमा बहिष्कार गर्छु, यो निर्वाचनमा म भाग लिदिन, यो निर्वाचन हुनुहुँदैन भनेर विरोध गर्न पाउने अधिकार राख्दछ र त्यसलाई कसैले रोक्न मिल्दैन।’
प्रसाईंमाथि सरकारले ज्यादती गरेको भन्दै त्यसको भर्त्सना गरे। ‘शान्तिपूर्ण हुनुपर्छ त्यति मात्रै हो, कसैले हिंसात्मक काम गर्न पाइँदैन तर विरोध गर्न पाइने व्यवस्था कायमै छ। यो संविधानले सुनिश्चित गरेको विषय हो र अहिले जुन प्रकारले दुर्गा प्रसाई माथि ज्यादती गरिराखेको छ त्यसको म फेरि पनि भर्तसना गर्न चाहन्छु,’ लिङ्देनले भने।
देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए। उनले आगामी प्रधानमन्त्री को हुने भन्नेकुरा समेत विदेशीले मिलाइदिन थालेको टिप्पणी गरे ।

















