
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ।
बिहीबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए।
संसद् पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाको विषयमा नलाग्न आग्रह गर्दै कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए। ‘हामी सम्पूर्ण रुपमा चुनावी प्रणालीमा गईरहेका छोँ। हामी चुनावमा नै विश्वास गर्छौँ। पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ,’ चालिसेले भने, ‘यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन।’
निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भइरहेको उनको भनाइ थियो। उनले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र कांग्रेस आफ्नै बलमा चुनाव लड्ने बताए।
‘चुनाव पूर्व हाम्रो कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन। नेपाली कांग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेद्वार कायम छ। हामी प्रचारमा लागेका छौँ। विजयको उन्मुख पुगिरहेका छौँ,’ उनले भने।
उनले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

















