Skip

Hamro Sanchar

रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।

शुक्रबार युवराज सफलले सर्वोच्च अदालत पुगेर त्यस निर्णयविरूद्ध रिट पेस गरेका हुन्।

‘रिट पेस गरेको छु। सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ,’ सफलले भने।

पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।

आफूविरूद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिन अनुरोध गर्दै रविले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।

निवेदक रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साध्ने नियत राखी अभियोजन गरेको भनेर आधार र कारण खोली न्यायका लागि निवेदन दिएको भण्डारीको निर्णयमा उल्लेख छ।

पीडित बचतकर्ताहरूको हक हितलाई प्राथमिकतामा राखी निज रवि लामिछाने प्रतिवादी भएका मुद्दाहरूमा … श्री कास्की जिल्ला अदालत, सम्मानित श्री काठमाडौं जिल्ला अदालत, सम्मानित श्री रुपन्देही जिल्ला अदालत र सम्मानित श्री पर्सा जिल्ला अदालतमा सम्मानित श्री चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दावी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दावी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ, भण्डारीले गरेको निर्णयमा उल्लेख छ।


प्रतिकृया दिनुहोस्