
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुईवटा प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलबार किार्यालयमा एक कार्यक्रमका बीच ‘नेपालमा शिक्षा र समावेशिता’ तथा ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिदेनहरू सार्वजनिक गरिएका हुन् ।
प्रतिवेदनअनुसार पाँच वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भए पनि माध्यमिक तहपछि विद्यालयमा उपस्थितिको दर न्यून देखिएको छ । अझै पनि १५–१९ वर्ष उमेर समूहका प्रत्येक चार जनामध्ये एकजना विद्यालयभन्दा बाहिर रहेको कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार ०६८ सालदेखि ०७८ सालसम्मको १० वर्षको अवधिमा साक्षरतादर १६ प्रतिशतले वृद्धि भएको छ । १८ वर्षमुनिका बालबालिकाको दर लगभग शतप्रतिशत पुगेको कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रादेशिक रूपमा वाग्मती र गण्डकी प्रदेशको साक्षरतादर सबैभन्दा धेरै ९५ प्रतिशत रहेको छ । बालबालिकासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेका छन् जुन कुल जनसंख्याको ३४ प्रतिशत हो ।
प्रादेशिक रूपमा बालबालिकाको संख्यामा गहिरो असमानता देखिएको छ । मधेस र लुम्बिनी प्रदेशमा बालबालिकाको उपस्थिति तुलनात्मक रूपमा उच्च छ भने कोसी र गण्डकी प्रदेशमा न्यून रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले बालबालिकाको आर्थिक गतिविधि, अपांगता, जन्मदर्ता, बसाइँसराइ र पारिवारिक संरचनासम्बन्धी सूचकहरूमा समेत उल्लेखनीय प्रादेशिक भिन्नता रहेको देखाएको छ । केही प्रदेशमा बालश्रम, अपांगता भएका बालबालिकाको अनुपात र जन्मदर्ताको अवस्था चिन्ताजनक रहेको प्रतिवेदनको निष्कर्ष छ ।

















