Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अध्यक्ष गिरीको दाबी : झापा ५ मा बालेन आए ओली झन् धेरै मतान्तरले विजयी हुन्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले आगामी निर्वाचनमा झापा-५ बाट अध्यक्ष केपी शर्मा ओली झन् धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन्।

रास्वपाका नेतासमेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा-५ बाट निर्वाचन लड्ने चर्चाकाबीच एमाले झापाका अध्यक्ष गिरीले यस्तो दाबी गरेका हुन्।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ।

अध्यक्ष गिरीले बालेनले झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गरे ओलीको मतान्तर थप बढ्ने दाबी गरेका हुन्।

‘बालेन झापा ५ मा निर्वाचन लडे एमालेलाई केही पनि फरक पर्दैन,’ गिरीले भने, ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन। हामीले जनताको काम गरेका छौँ। बालेन झापाबाट उम्मेदवार बन्नेमा विश्वास छैन, आइहाले फरक पनि पर्नेछैन।’

उनले कुलमान घिसिङ र बालेनलाई अदृष्य शक्तिले रास्वपासँग जबरजस्त मिलाएको दावी पनि गरेका छन्।

‘अहिले रास्वपाबाट कुलमान जी बाहिरिइसक्नुभयो। बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन,’ उनले भने, ‘रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो। क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्।’

बालेनलाई अदृष्य शक्तिहरुले नै प्रधानमन्त्री घोषणा गरेको भन्दै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए।

‘रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दुख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउने भन्दा मान्ने अवस्था छैन,’ उनले भने, ‘परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको हो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुन सक्ने पनि गिरीले बताए।

एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा ५ मा अध्यक्ष ओली अत्याधिक मतका साथ विजयी हुने ठोकुवा गरे।

विकास निर्माणको कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको र बालेन टुरिस्ट उम्मेदवार हुँदा ओलीलाई निर्वाचन जित्न धेरै सजिलो हुने गिरीको तर्क छ।

०७९ सालको निर्वाचनमा ओली झापा ५ बाट २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए।

 

 

 


प्रतिकृया दिनुहोस्