
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा मेट्रिक घर नम्बर प्रणालीमा आधारित दिम्याप्स (DMAPS) सफ्टवेयर सञ्चालनसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। उक्त तालिममा नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो।
नगर क्षेत्रमा घर तथा भवनको विवरणलाई डिजिटल नक्सासँग आवद्ध गरी व्यवस्थित अभिलेख तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
नगरपालिकामा घर नम्बर प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र डिजिटल माध्यमबाट व्यवस्थापन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए। नगरपालिकालाई प्रविधिमैत्री बनाउने उदेश्य अनुरुप DMAPS सफ्टवेयरमार्फत मेट्रिक घर नम्बर निर्धारण, भू–सूचना (GIS) आधारित विवरण प्रविष्टि, नक्सांकन तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए।
तालिमका क्रममा सहभागीहरूलाई सफ्टवेयरको प्रयोग विधि, घर नम्बर प्रविष्टि प्रक्रिया, तथ्यांक अद्यावधिक गर्ने तरिका, नक्सासँग विवरण जोड्ने अभ्यास तथा प्रतिवेदन तयार गर्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
मेट्रिक घर नम्बर प्रणाली लागू भएसँगै नगर प्रविधिमैत्री हुनुका साथै कर संकलन, आपतकालीन सेवा, शहरी योजना तथा तथ्यांक व्यवस्थापनमा सुधार आउने बताइएको छ।



















