
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचनमा अहिले साढे ११ बजेसम्म ३८० मत खसेको छ।
भोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो। मेसिन प्रयोग गरिए पनि मतदानमा धेरै समय लागिरहेको गुनासो मतदाताले गरेका छन्।
अशक्तहरूलाई प्राथमिकता दिएर अगाडि मत खसाल्ने व्यवस्था मिलाइएको छ भने आफैँ मत हाल्न नसक्नेहरूले सहयोगका लागि इच्छाएको व्यक्ति रोज्न पाउँछन्।
एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।
जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।
अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन् ।


















