Skip

Hamro Sanchar

फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २७ गते


काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान । रामेछापको विकट गाउँ फूलासीमा जन्मिएकी उनी अहिले केवल प्रतिस्पर्धी मात्र होइन, महिला नेतृत्व र उद्यमशीलताको उदाहरणका रूपमा चिनिँदै गएकी छन् ।

शिक्षाले नर्स भएता पनि चौहान पारिवारिक व्यवसाय भवानी ग्रुपको नेतृत्वमा ३० वर्षको उमेरमै स्थापित व्यवसायी हुन् । उनका अनुसार संस्थाले हाल तीन हजारभन्दा बढी युवालाई रोजगारी प्रदान गरेको छ । घरेलु उद्यम विस्तार र रोजगारी सिर्जनामा दिँदै आएको योगदानका कारण उनी युवा महिला उद्यमीको प्रतिनिधि स्वरूप स्थापित हुँदै गएकी छन् ।

प्रतियोगितामा सहभागी हुन पाएको अनुभवबारे बोल्दै चौहानले भनिन्, “मिसेस नेपाल वर्ल्ड प्रतिस्पर्धा मेरो लागि केवल सौन्दर्य प्रतियोगिता होइन, आत्मपहिचान र सिकाइको यात्रा हो। हार–जित प्रतिस्पर्धाको सामान्य प्रक्रिया हो । तर, यसले दिएको दृष्टिकोण र सिकाइले मलाई अझ तयार बनाएको छ ।”

उनले परिवार, व्यवसाय र सामाजिक संलग्नता बीच सन्तुलन राख्दै महिलाको भूमिका घर–परिवारमा मात्र सीमित नहुने स्पष्ट सन्देश दिएको पाइएको छ । चौहानका अनुसार, प्रतियोगितामा सहभागी हुन श्रीमान भवानी ओझा र परिवारको प्रोत्साहन सबैभन्दा ठूलो आधार बनेको छ ।

मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ । फाइनल चरणमा प्रवेश गरेसँगै चौहान हाल तयारी तीव्र बनाउँदैछिन् ।

विशेषज्ञहरूको मूल्यांकनमा चौहान जस्ता युवा प्रतिभाले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयलाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेलेका छन् । ग्रामीण क्षेत्रमा जन्मिएर व्यवसायिक तथा सामाजिक क्षेत्रसम्मको उनको यात्रा धेरै महिला र युवाका लागि प्रेरणास्रोत मानिन्छ ।

फूलासीको साधारण परिवेशबाट सुरु भएको बिध्या चौहानको जीवनयात्रा आज राष्ट्रिय स्तरको प्रतिस्पर्धासम्म आइपुगेको छ ।


प्रतिकृया दिनुहोस्