Skip

Hamro Sanchar

मुलपानी प्रहरी बिटबाट पुनः सेवा सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १३ गते


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मुलपानीस्थित प्रहरी बिटबाट पुनः सेवा सुरु भएको छ । स्थानान्तरणसहित पुननिर्माण गरेर मुलपानी प्रहरी बिटबाट आजबाट औपचारिक रुपमा सेवा सुरु भएको हो ।

यसअघि मुलपानी चौरबाट सेवा प्रदान गर्दै आइरहेको बिट जेनजी आन्दोलनको क्रममा आगजनीबाट भवन ध्वस्त भएपछि सिर्जना टोल नजिकै रहेको एक सार्वजनिक भवनलाई पुननिर्माण गरेर सेवा सुचारु गरिएको हो ।

उक्त भवन आज बिहान एक कार्यक्रम आयोजना गरि नगरप्रमुख उपेन्द्र कार्की, वडाअध्यक्ष प्रकाश फुयाल, प्रहरी नायव उपरीक्षक सन्तोष रोका सहित स्थानीयहरुको बाक्लो उपस्थितिमा प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

पुनः सेवा सुरु भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले विधिलाई छोडेर विध्वंस रोज्नु गलत भएको बताए । सुरक्षा निकायमा आक्रमण गर्नु, राष्ट्रिय धरोहरहरू तहसनहस बनाउनु दुखद भएको उनको भनाइ छ । कार्कीले काठमाडौं महानगरले आन्दोलनकारीलाई पानी वितरण गर्दा देशको गौरव र विरासतका रूपमा रहेको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनमा आगो बल्दा आफुसँग भएको दमकल प्रयोग नगरेकोमा आक्रोश व्यक्त गरे ।

प्रमुख कार्कीले युवा पुस्ताको जायज भएपनि जेनजी आन्दोलनको नाममा घुसपैठ गरी आन्दोलन भड्काएको दाबी गरे ।

यस्तै वडाअध्यक्ष फुयालले जेनजी आन्दोलनका क्रममा ध्वस्त रहेको मुलपानी प्रहरी बिट स्थापना भएसँगै स्थानीय नागरिकले शान्ती सुरक्षाको थप प्रत्याभुतिको महसुस गर्ने बताए । नेपाल प्रहरीको मुल मन्त्र सत्य सेवा सुरक्षणमलाई आत्म साथै गर्दै निरन्तर जनताको सेवामा लाग्न वडाअध्यक्ष फुयालले अनुरोध गरे । प्रहरी बिट पुनर्स्थापना तथा स्थानान्तरणको लागि आफुले सक्दो पहल गरेको जानकारी दिँदै उनले शान्ति सुरक्षा कायम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गनुपर्ने बताए । उनले प्रहरी बिट पुनर्स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

आन्दोलनका समयमा काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीका २१९ वटा भवनहरूमा क्षति भएको थियो । सो क्रममा प्रहरी जवानको लत्ता कपडादेखि सञ्चार उपकरण, कम्प्युटर लगायत सम्पूर्ण सरसामान, विभिन्न मुद्दाका फाइलहरू, प्रमाणहरू, चोरी तथा लुटपाटबाट जफत गरिएका धनमालहरू, लगायतका सम्पूर्ण चिजको नाश भएको छ ।

नगरपालिकाभित्रका प्रहरी चौकीहरु सबै पुननिर्माण गरेर हस्तान्तरण गरिसकिएको छ । जसमा काँडाघारी प्रहरी प्रभाग हिजो बिहानबाट पुननिर्माण सहित संचालनमा आइसकेको छ भने प्रहरी चौकी थली, अर्याल गाउँको प्रहरी बिट यसअघि नै संचालनमा आइसकेका छन् ।


प्रतिकृया दिनुहोस्