Skip

Hamro Sanchar

रवि लक्षित प्रधानमन्त्रीको टिप्पणी : भिजिट भिसामा विदेश गएर दुईदुई पटक बिहे गरिसकेका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २८ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थुनामा पठाएका व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भाष्य नबनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो भन्दै उनले प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भाष्य बनाउन खोजिएकोमा असन्तुष्टि व्यक्त गरे ।

“लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,” ओलीले भने, “तर, अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो रु त्यो चाहिँ कानुनी कारबाही हो रु”

उनले अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुन–कुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो रु कुन–कुन व्यक्तिमाथिको थुना जायज हो रु भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले रास्वपाले लगातार गर्र्दै आएको संसद् अवरोधप्रति असन्तुष्टि व्यक्त गरे । “यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित हुँदैन,” ओलीले भने ।

स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने उनले प्रष्ट पारे ।

ओलीले भिजिट भिसामा नागरिकलाई बेच्न खोजिएको भाष्य भिजिट भिसामा बसेर मन्त्री भएकाले गरेको भन्दै लामिछानेमाथि कटाक्ष गरे ।

“कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्,” प्रधानमन्त्री ओलीले भने, “यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।”


प्रतिकृया दिनुहोस्