Skip

Hamro Sanchar

रवि बस्ने कोठामा खुला ट्वाइलेट छ, स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन : आयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २७ गते


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राखिएको रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको छ ।

आज एक विज्ञप्तिमार्फत आयोगले लिली थापासहित आयोगको टोलीले सोमबार गरेको रूपन्देही कारागारको अनुगमनबारे जानकारी दिएको हो ।

आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको बताएको छ । यस्तै, उनलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको पनि आयोगको विज्ञप्तिमा उल्लेख छ ।

कोठासँगै खुला ट्वाइलेट रहेकाले स्वास्थ्यका दृष्टिकोणले लामिछानेलाई राखिएको कोठा उपयुक्त नभएको निष्कर्ष आयोगको छ ।

यस्तै, अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले‍ जनाएको छ ।

रूपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरूले प्राप्त गर्न नसकेको, बेलाबेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको छ,आयोगले भनेको छ ।

आयोगले कारागार व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस्