
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन्।
वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए । ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भइसकेको छ ।
लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए । लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए ।
‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५र६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।














