
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको बताएका छन्।
‘आज अन्तरराष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो। पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको पनि उल्लेख गरेका छन्। ‘हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ,’ उनले भनेका छन्।
आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ। राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।















