Skip

Hamro Sanchar

जनार्दनबारे वर्षमानले भने : बोलेको भरमा माओवादी फुट्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १७ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी मोर्चामा आबद्ध भएकाहरूसँग एकता वार्ता भइरहेको बताएका छन्।

जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको एजेन्डा नै बनाएको बताए।

उनले भने, ‘हामीले एकीकृत समाजवादी, नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौँ। यसलाई हामीले नियमित काम गरिरहेका छौँ। हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौँ। असमझदारीलाई छलफलबाट टुंग्याउँछौं।’

उनले माओवादी कुनै हालतमा नफुट्ने दाबी गरे। प्रचण्ड र जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षबारे उनले भने, ‘आएको विषयहरू पार्टीभित्र छलफल गर्छौँ, मिडिया र अरू मान्छेले हल्ला गरेको कुरालाई हामी पूरा हुन दिँदैनौँ। पार्टी फुट्दैन।’

उनले आफ्नो कुरा राखेको र बोलेको भरमा कसैलाई पार्टीले कारबाही नगर्ने बताए। पार्टीभित्र भएको गुटलाई अन्त्य गरेर जाने भन्दै आफ्नो गुट नभएको जिकिर गरे। अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने जिकिर गरे ।


प्रतिकृया दिनुहोस्