Skip

Hamro Sanchar

वाईसीएललाई प्रचण्डको निर्देशन : राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १८ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन् ।

आज योङ कम्युनिष्ट पार्टी (वाईसीएल)नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए कसरी वाईसीएल हुन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

पछिल्लो समय राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै प्रचण्डले आइलाग्नेमाथि जाइलाग्न तयारी भएर बस्न निर्देशन दिए ।

उनले भने, ‘अहिले राजावादीहरु बडो कता कताबाट पैसा ल्याएको छन्, पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं । म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस् । गर्नैपर्छ ।’

अध्यक्ष प्रचण्डले आफू शनिबारमात्रै नुवाकोटमा सार्वजनिक कार्यक्रममा बोलिरहेको बेला एक जना राजावादीले अराजक रुपमा प्रश्न गरेपछि त्यसको जवाफ त्यहाँका स्थानीयले जीवनभर पुग्नेगरी र नबिर्सिनेगरी प्रतिवाद गरेको सुनाए ।

उनले यदि कोही आइलाग्छ भने त्यस्तो अवस्थामा जाइ नलाग्ने भए कसरी वाईसीएल भयौ भन्दै प्रश्न गरे ।

प्रचण्डले भने, ‘यदि हाम्रोविरुद्ध कोही आइलाग्छ भने जाइ लाग्नपर्छ र त्यसको त प्रतिवाद गर्नैपर्छ । नत्र हामी कसरी वाईसीएल भैयो त ? हामी क्रान्तिकारी कसरी भयौं त?’


प्रतिकृया दिनुहोस्