Skip

Hamro Sanchar

काठमाडौंमा यातायात व्यवसायीको प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १८ गते


काठमाडौं । काठमाडौंको माइतीघरमा जम्मा भएका यातायात व्यवसायीहरूले माइतीघर-बबरमहल सडकमा प्रदर्शन गरेका हुन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको थियो।

८ वटा संघरसंगठनले १९ गतेदेखि देशभरि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका पनि छन्।यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सारेका छन्।

उनीहरूले सवारी ऐनको व्यवस्थासँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याएका नियमहरू खारेज गर्न माग गरेका छन्।

विशेषगरी, गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालनका लागि ल्याएको नियमावली तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ।

यो नियमावलीले सार्वजनिक यातायातलाई असर पारेको व्यवसायीहरूले बताएका छन्।

यस्तै, सार्वजनिक यातायात क्षेत्रमा कार्यरत मजदुरहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने माग राखिएको छ।

यसले मजदुरहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। मालवाहक सवारी साधनको भार बहन नियमन सम्बन्धी निर्देशिका अनुसार स्वदेशी र विदेशी सवारीको भार क्षमता कडाइका साथ लागु गर्नुपर्ने माग पनि समावेश छ।

बीमा दर निर्देशिका २०७३ लाई समयानुकूल संशोधन गरी सवारी दुर्घटनाका लागि क्षतिपूर्ति र उद्धार राहतका लागि छुट्टै दुर्घटना राहत कोष स्थापना गर्नुपर्ने माग व्यवसायीहरूले राखेका छन्।

यो कोषले दुर्घटना प्रभावितलाई तत्काल राहत प्रदान गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।

छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने मालवाहक र यात्रुवाहक सवारीले भन्सार नाकामा पाउने ७२ घण्टे सुविधालाई असमान नीति भन्दै तत्काल संशोधन गर्नुपर्ने माग छ।

सर्वोच्च अदालतको परमादेशअनुसार संघ–संस्था दर्ता ऐन २०३४ बमोजिम संघ–संस्थाको नवीकरण र सम्पत्ति फुकुवा तत्काल कार्यान्वयन गर्नुपर्ने माग पनि समावेश छ ।


प्रतिकृया दिनुहोस्