
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको विवाद चुलिँदै गएको छ। अहिले जिल्लाहरूमा सभापति तथा प्रदेशका सभापतिहरू एकपछि अर्को निलम्बनमा परिरहेका छन्।
केही जिल्लाका सभापतिहरूले राजीनामा दिएका, केही जिल्ला संयोजकहरू पार्टीबाट बाहिर लागिसकेका छन्। केही दिनअघि मात्रै रास्वपा झापाका सभापति उमेश खरेल नैतिक तथा आर्थिक रूपमा विवादमा तानिएपछि राजीनामा दिएका थिए।
त्यसलगतै सुनसरीमा फेरि अर्को विवाद सिर्जना भएको छ। ह्वाट्सएप ग्रुपमा टिकाटिप्पणी गरेको विषयलाई लिएर रास्वपा सुनसरी जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ।
जिल्ला सभापति श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनि अभिव्यक्ति दिएको भन्दै रास्वपाको कोसी प्रदेश समितिका कार्यवाहक सभापति गोमा तामाङ ९सरिन०ले स्पष्टीकरण सोधेकी हुन्।
स्पष्टीकरणमा भनिएको छ, ‘पार्टीको नीति, उद्देश्य र कार्यक्रम विपरीत पार्टी सदस्यलाई नैरश्यता बढाउने गतिविधिमा लाग्नुभएकाले यहाँलाई पार्टीले जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने ?’
स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन भनिएको छ। समयसीमाभित्र स्पष्टीकरण प्राप्त नभएमा पार्टी गतिविधि विपरीत लागेको स्वीकारेको ठानी पार्टी विधान बमोजिम कारबाही गर्ने पनि भनिएको छ।
‘चैत ३ गते कोसी प्रदेशको आधिकारिक ह्वाट्सएप ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर साहले-४ गतेको बैठक ८ गते सरेको होरु भन्ने जिज्ञासामा ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ श्रेष्ठलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँको यो भनाइ मप्रति अथवा कोसी प्रदेशप्रति होइन भने यो केन्द्रलाई लगाएको आरोप हो। पार्टीलाई लगाएको आरोप लाञ्छना क्षम्य हुने देखिँदैन।’
सरिनले आफू प्रदेशको नेतृत्वमा आएपछि विगतको नेतृत्वले लथालिङ्ग बनाएको सङ्गठनलाई सही रूपमा ल्याएर पार्टीलाई ऊर्जाशील बनाएको दाबी गरेकी छिन्।
स्पष्टीकरणको बारेमा प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘मलाई ह्वाट्सएप ग्रुपमार्फत नै स्पष्टीकरण सोधिएकोले आफूले पनि त्यही रूपले नै स्पष्टीकरण दिने तयारी गरेको छु।’
सामान्य पार्टीभित्रको ग्रुपमा लेखिएको कुरालाई ठूलो विषय बनाएर स्पष्टीकरण सोधेर प्रदेश कमिटीले गलत नजिर स्थापित गर्न खोजेको बताए। उनले स्पष्टीकरण पेस गरेपछि सबै कुराहरू सार्वजनिक गर्ने समेत बताए ।

















