Skip

Hamro Sanchar

आईजीपी थापालाई दर्ज्यानी चिह्न, भन्छन् : ‘पहुँचको होइन, पद्धतिको थिति बसाल्ने प्रयास गर्नेछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने बताएका छन्।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै थापाले भने, ‘प्रहरी सङ्गठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्नेछु ।’

कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने उल्लेख गर्दै थापाले भने, ‘पदोन्नति हुनेबेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउन चाहन्छु ।’

प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्नो लागी केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको बताए । उनले भने, ‘प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्नेछु ।’

समाजको आवश्यकताको उपज प्रहरी भएको उल्लेख गर्दै थापाले सङ्गठनभित्रको कमजोरी लुकाएर सुधार नहुने बताएका छन् । प्रहरीमा सुधारको लागी साइत नहेर्ने उद्घोष गर्दै उनले भने,‘सुधारको प्रारम्भ आफूबाटै गर्नेछु ।


प्रतिकृया दिनुहोस्