Hamro Sanchar

माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर कमिटीले गर्यो सहिद परिवारको सम्मान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २१ गते


काठमाडौं, फागुन २१- नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिकाको नगर कमिटीले सहिद परिवारको सम्मान गरेको छ ।

नगर कमिटीले सहिद सप्ताहको अवसर पारेर बुधबार एक कार्यक्रमको आयोजना गरि सहिद परिवारको सम्मान गरेको हो ।

नगरका सहिद १० जना, बेपत्ता ५ जना, बन्दि २० जना र राजबन्दीमा परेका ५ जना गरि ४० जनालाई सम्मान गरेको नगर अध्यक्ष भोला चापागाईले हाम्रोसंचारलाई जानकारी दिए ।

२०५२ साल फागुन १ गते नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन १४ गते प्रथम सहिद दिलबहादुर रम्तेल र फागुन २१ गते झापा विद्रोहमा सहिद भएका दिनलाई जोडेर हरेक वर्ष सहिद सप्ताह मनाउँदै छ ।

नगर कमिटीले नगरसहित देशभरका करिब १० हजार सहिदहरु र वेपत्ताको स्मरणमा सहिद सप्ताहको अवसरमा सबै सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र सबै वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गरेको छ । त्यस्तै जनयुद्ध र १९ दिने आन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक सहभागिता जस्ता उपलब्धीहरुको रक्षाका लागि सबै तह तप्काका जनसमुदायसँग नेकपा माओवादी केन्द्र नगर कमिटीले अपिल गरेको छ ।

त्यस्तै सहिद सप्ताहको अवसरमा महान सहिद, वेपत्ता परिवारजन, अपाङ्ग, घाइते, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धका पूर्ण कालीन तथा सम्पूर्ण सहयोगीहरु लगाएत सबै जनसमुदायहरुमा सहिदले देखाएको बाटोमा लाग्ने विश्वास एवं पूर्ण प्रतिवद्धता व्यक्त गरेको छ ।

नगर कमिटीले सहिद सप्ताहको अवसरमा यसअघि रक्तदान, गागलस्थित कागेश्वरी मन्दिर धाम परिसर सरसफाई जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

सहिद परिवारको सम्मान कार्यक्रममा काठमाडौं जिल्ला इन्चार्ज पार्टी केन्द्रिय सदस्य हिमाल शर्मा, काठमाडौं जिल्ला सचिव महेश्वर फुयाललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्