काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन्।
दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् ।
‘दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही विशेष वर्गका व्यक्तिहरुसँग नराम्रो व्यवहार गरिरहेको छ । यो निकै नराम्रो स्थिति भए पनि यसबारे कट्टर लेफ्ट मिडियाले धेरै कुरा गरेका छैनन्,’ सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको छ । अमेरिकाले यसविरुद्ध कदम उठाउने छ ।’
उनले यससम्बन्धी अध्ययन पूरा नभएसम्मका लागि दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहायता बन्द गरिदिने उल्लेख गरेका छन् ।
एक सरकारी आँकडा अनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहायता दिएको थियो ।
यसअघि ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशतको दरले र चीनबाट आयात हुने वस्तुमा १० प्रतिशतको दरले ट्यारिफ लगाउने निर्णय गरेका थिए ।
राष्ट्रपति ट्रम्पले गत महिना दक्षिण अफ्रिकासँगको सम्बन्धलाई लिएर आफू चिन्तित भएको अभिव्यक्ति दिएका थिए ।