Hamro Sanchar

शेखर भन्छन् : अध्यादेशबाट देश चलाउनु निरंकुशताको एक कदम हो स् शेखर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ९ गते


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् ।

बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए । ‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने हो’, उनले भने ।

संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको टिप्पणी छ । ‘कांग्रेस र एमालेको बहुमत छ । बहुमतले पास गर्ने हो नि ! ऐन बनाउन दुई तिहाइ त चाहिँदैन’, नेता कोइरालाको सरकारसँगै असन्तुष्टि छ ।

यहींनेर उनले अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको टिप्पणी गरेका हुन् । ‘अब त १८ गते संसद बोलाइसकियो । त्यो आफ्नो ठाउँमा भयो । तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न । त्यो गलत कुरा हो’, नेता कोइरालाको भनाइ छ ।

विषयवस्तु के आयो भन्ने भन्दा पनि कसरी आयो भन्ने विषयले अर्थ राख्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले अध्यादेश ल्याउनुभयो यसको भित्रको कन्टेन्टहरु खराब त छैन । धेरै अध्यादेशहरु ठीकै छ । राम्रै छ भन्छु म । तर, संसद बोलाएर गर्नुपर्थ्यो नि त ।’

सरकारले पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ ल्याएको थियो । २९ पुसमा चारवटा अध्यादेश ल्याएको थियो । २ माघमा भूमि म्बन्धी अर्को अध्यादेश जारी भएको छ ।

गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् संशोधन गर्ने सरकारको काम लोकतान्त्रिक हुन नसक्ने भनेर विपक्षी दलहरूले समेत आलोचना गर्दै आएका छन् । यही बेला सत्तारुढ दल कांग्रेसकै नेता कोइरालाले पनि अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका हुन् ।


प्रतिकृया दिनुहोस्