कांग्रेस नेतालाई दायाँबायाँ राखेर प्रचण्डकाे दाबी : यो सरकार लामो समयसम्म टिक्दैन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्याएका छन् ।
चितवनमा कांग्रेस नेता डा.शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरेका छन् ।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’
प्रचण्डपछि बोलेका कांग्रेस नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताए ।
कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’
कोइरालालगत्तै ठट्टा गर्दै प्रचण्ड थप्छन्, ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि ।