Hamro Sanchar

नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित : पूर्वराजा शाह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २६ गते


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित रहेको प्रतिक्रिया दिएका छन्।

पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले आम नागरिकको सुरक्षा, न्याय, गाँस-बास-कपास, शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रतालाई मात्र पूर्ण प्रजातन्त्र मान्न सकिने टिप्पणी गरेका छन्।

‘प्रजातन्त्र भनेको आम मानिसको जीवनपद्धति हो’, करिब पौने १२ मिनेटको भिडियो सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले मात्र प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन।’

उनले हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ भनेर सोच्नुपर्ने बताएका छन्। ‘हामी पराधीनता, परनिर्भरता र आत्मग्लानिको दिशातिर बढ्दै जानु बिडम्बना हो। हाम्रो स्रोत र साधन, श्रम र सिप देशको विकासमा पूर्णरूपमा उपयोग भएको छैन।’

पूर्वराजा शाहले जनशक्ति निरन्तर विदेशिरहेकोतर्फ उनले चिन्ता व्यक्त गरेका छन्। ‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सिपको दुरुपयोग गरिरहेका छौँ’, उनले भनेका छन्।

हाम्रो भौगोलिक र सामाजिक बनोटको आधारमा आफ्नो मूल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्यपद्धति कायम गर्दै जानुपर्ने धारणा राखेका छन्। ‘नेपाल कसैको रणमैदान होइन उनले भनेका छन्, ‘हामी सबैको शान्तिथलो बनाउनुपर्छ।’

पूर्वराजा शाहले राष्ट्रनिर्माण र आन्तरिक एकता कामय राख्ने पृथ्वीनारायणको मौलिक मार्गनिर्देशन हुँदाहुँदै परायाद्वारा सिर्जित वादविवादको चक्रव्यूहमा फस्नु गलत भएको तर्क गरेका छन्। उनले पृथ्वीनारायणको ‘दिव्योपदेश’ आत्मसात गरे मात्र नेपाल विश्वमै समुन्नत बन्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्