Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस, एमाले लगायत पुराना पार्टीले देश बिगारे : रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले पुराना पार्टीका नेताहरुले देश बिगारेको आरोप लगाएका छन्।

भक्तपुरको मध्यपुर थिमीमा आयोजित प्रथम जिल्ला भेलालाई शनिबार सम्बोधन गर्ने रास्वपा नेताहरुले पटक–पटक सरकारमा पुगेका कांग्रेस, एमाले लगायत दलले देश बिगारेको आरोप लगाएका हुन् ।

कार्यक्रममा रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले देशमा केही गरौं भन्ने उद्देश्यले राजनीतिमा आएकालाई पनि एमाले नेतृत्वको वर्तमान सरकारले दुःख दिएको गुनासो गरे ।

नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरुलाई प्रहार भइरहेको भन्दै सचेत हुन उनले आग्रह गरे । पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा दुःख दिएको उनको भनाइ थियो ।

थिमिको निगुपुखू (दुईपोखरी) क्षेत्रमा सम्पन्न कार्यक्रममा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पनि पार्टी सभापति लामिछानेप्रति सरकारले प्रतिशोध साँधेको भन्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न आह्वान गरे ।

कार्यक्रममा प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचल्दा देशमा कुशासन र बेरोजगारी बढेको जिकिर गरे । ‘नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर विदेशिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुुदलीय जनवाद ९जबज० नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन,’ परियारले भने ।

पुराना राजनीतिक दल सिद्धान्त विपरीत चलेकाले प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा रास्वपाको उदय भएको उनले जिकिर गरे ।

कार्यक्रममा संस्कृति, सामाजिक र साहित्यिक क्षेत्रमा योगदान गरेका गणेशराम लाछी र जिवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । जिल्ला भेलाको उद्घाटन पश्चात् सुरु हुने बन्दसत्रले राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्लाको नयाँ कार्यसमिति चयन गर्नेछ ।


प्रतिकृया दिनुहोस्