दोलखा, कात्तिक २८- दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको दिन फूल तार्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ । मंगलबार बिहान तामाकोशी नदीको चैतेघाटमा फूल तार्ने क्रममा बेपत्ता मेलुङ गाउँपालिका-१, जामुनेका दान बहादुर बुढाथोकीका २२ वर्षीय छोरा राजेन्द्र बुढाथोकी बेपत्ता भएका थिए ।
बुढाथोकीको शव बुधबार (आज) दिउँसो भ्याकुरे भन्ने स्थानमा फेला परेको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिइन् ।
बुढाथोकी फुल तार्ने क्रममा हिजो बिहान करिब १०:४० बजे डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता बुढाथोकीको खोजीका लागि घटनास्थलमा दोलखा प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली खटिएको थियो । नदीको पानीको बहाव र ठण्डीले खोजी कार्यमा कठिनाइ उत्पन्न भएकाले आज मात्र मृतकको शव फेला परेको हो ।
एकादशीको पूजा सम्पन्न गर्न फूलको डोरी तार्ने धार्मिक परम्पराका क्रममा यो दुखद घटना घटेको हो ।
बुढाथोकी निधनले स्थानीय समुदायमा शोक र चिन्ता छाएको छ ।