काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।
नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ ।
नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।
यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए ।