Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामाको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान र प्रविधिमा सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताए ।

“धनी र गरिब मुलुकबीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता छ । आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्”, उनले भने, “प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्छौं ।”

प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्नेभन्दा बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको उल्लेख गर्दै यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षाको एक अंग भएको बताए।

“निरोगी नेपालको नीति र अठोटभित्र शुद्ध र सन्तुलित खानाका साथै बच्चैदेखि मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने सोच रहेको छ,” उनले भने, “विश्वमा आधुनिक चिकित्साको विकास हुनुपूर्व नेपालका पुर्खाहरूले परम्परागत र आयुर्वेदिक उपचार पद्धतिको विकास गरेका थिए ।”

नेपालले मातृशिशु मृत्युदरमा उल्लेख गिरावट ल्याउनेलगायत सुधारका काम गरेको तर स्रोतसाधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ पूर्वाधार विकास नभएको स्पष्ट पारे ।


प्रतिकृया दिनुहोस्