काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका लागि ठप्प पारिएको विमानस्थल खुलेको छ । प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो ।
उडान बन्द गर्दा करिब १५ जहाज प्रभावित भएका छन् । पोखराबाट काठमाडौँका लागि उडेका बुद्ध एयरको एउटा जहाज पोखरा नै फर्किएको थियो । पोखराबाट ११ः१५ मा उडेको उक्त जहाज ११ः४५ मा काठमाडौँ विमानस्थल अवतरण गर्ने तालिका थियो । तर प्रधानमन्त्रीको उडानले गर्दा केहीबेर धादिङको आकाशमाथि होल्ड गरेर उक्त जहाज पोखरा नै फर्किएको थियो ।
क्वालालम्पुरबाट काठमाडौँ आएको जहाज करिब २० मिनेट होल्ड गरेर भर्खरै अवतरण गरेको छ । भैरहवाबाट काठमाडौँ आएको बुद्धको अर्को जहाज काठमाडौँ माथि फन्को लगाइरहेको छ । विराटनगरबाट काठमाडौँ आउन लागेको यती एयरलाइन्सको जहाज पनि होल्डमै छ ।
बैंककबाट काठमाडौँ आएको थाई एयरको जहाज पनि आकाशमै फन्को मारिरहेको छ ।