कैलाली । कैलालीको जिल्ला कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दिउँसो करिब ३ बजेतिर शौचालयमा लडेको अवस्थामा भेटिएका दीपकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । करिब ६ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने बताए पनि दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको मृत्यु भएको आरोप लगाएका छन् ।
कारागारको लापरबाहीका कारण ज्यान गुमाएको उनका अङ्कल नेत्र पहराईले बताए । दीपकले १२ बजेसम्म पनि कुरा हुँदा त्यस्तो कुनै समस्या बारे आफन्तलाई बताएका थिएनन् । तर, त्यसको केही घण्टा भित्रै उनको मृत्युले कारागार सुरक्षामा पनि गम्भीर प्रश्न उब्जिएको छ ।
केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए । दीपककै आफन्तले उनीहरु दुबैलाई घर बोलाएपछि २०८० माघ७ दीपक विरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । दाइ बहिनी नाता पर्नेबिच हाड जोर्नी करणीमा मुद्दा दायर भएपछि दीपक कारागार चलान भएका थिए ।
प्रहरीले ‘खोकी लागेको थियो ,औषधी खाएपछि बमिट भएको हो’ भन्दै आफन्तलाई खबर गरेपछि धेरैले विष सेवन गरेको आशङ्का गरेका छन् । तर, प्रहरीले भने त्यस विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्ने बताएको छ ।
दीपक विकको घटनामा उनका आफन्तहरूले सत्य तथ्य छानबिनको माग गरेका छन् ।