Hamro Sanchar

संसद् चल्न नदिने माओवादीको चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए ।

लगत्तै माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सभामुखले सचिवालयसँगको छलफलपछि उक्त शब्द हटाउने कि नहटाउने भन्ने विषयमा निर्णय दिने बताए ।

माओवादी सांसदहरुले तत्काल निर्णय सुनाउन दबाब दिएको भन्दै सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द रेकर्डबाट नहटाउने बताएका थिए ।

त्यसपछि माओवादी सांसदहरुले सभामुखको निर्णयविरुद्ध संसद अवरोध गरेका छन् । उनीहरुले आजको बैठक पनि चल्न नदिने निर्णय गरेपछि सभामुखले छलफलका लागि बोलाएका हुन् ।


प्रतिकृया दिनुहोस्