आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरीमा विद्यार्थी सचेतनामुलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २६ गते


Advertisement

काठमाडाैं, भदौ २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको सहकार्यमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको सभापतित्वमा नगरपालिकाको वडा नम्बर ९ मा रहेको गान्धी आदर्श माध्यमिक विद्यालयमा उक्त कार्यक्रममा सम्पन्न भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिकाको साझेदारीमा जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी कागेश्वरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई अनिवार्य पठन-पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण गरिएकाे हाे ।

पाठ्यपुस्तकमा अपराध, लागु औषध दुर्व्यसन, धुम्रपान र मध्यपान, साइबर अपराध, महिला तथा बालबालिका हुने अपराधहरु, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी सम्बन्धि व्यवस्था, करणी सम्बन्धि कसुर, लैंगिक तथा यौनिक अल्पसंख्यक(LGBTIQ+), मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामुलक कार्यक्रमहरु, जुवातास तथा सट्टाबाजी, चोरी र चोरीबाट बच्ने उपायहरु, ट्राफिक सचेतना, विपद् जोखिम र न्यूनीकरणका उपायहरु, आत्महत्या, घटनास्थल सुरक्षा, आपराधिक अभिलेख प्रणाली, प्रहरी चारित्रिक(चालचलन)प्रमाणपत्र, आत्मरक्षा, तनाब ब्यबस्थापन, घटना रोकथामका उपायहरु, असल नागरिकका दाहित्व र जिम्मेवारी काठमाडौं जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यमहरु लगायतका विषयबस्तुहरु राखिएका छन् ।

विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट वचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्धी गरी अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको प्रमुख अतिथि एआइजी बज्राचार्यले बताइन् ।

यस्तै कार्यक्रममा मेयर कार्कीले सानै उमेर देखी नै बालबालिका जानेर वा नजानेर विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप एवं बालबिज्याईमा संलग्न देखिएको पाईएकोले त्यस्ता बालबालिकालाई केन्द्रमा राखी विद्यालय शिक्षा मार्फत सुयोग्य नागरिक निर्माण गर्न/गराउन र स्कुलका विद्यार्थीहरूलाई सबै अपराधहरूबाट बचाउने उद्देश्यका साथ विद्यालय र नेपाल प्रहरीको साझेदारीमा विद्यालयमा अध्यापन गराई अपराध रहित समाजको निर्माण गर्न नगरपालिका लागि परेको बताए ।

नगरपालिकामा एक हजार शिक्षक-शिक्षिका र ५० हजार विद्यार्थी रहेको स्मरण गराउदै मेयर कार्कीले उक्त पाठ्यसामाग्री आवश्यक मात्रामा तयार गरी नगरपालिकाको अभिभावकत्वमा नगरपालिकाका सम्पूर्ण विद्यालयहरुका प्रमुखहरूसंग सम्झौता गरी प्रत्येक शैक्षिक संस्थाहरूमा अनिवार्य रूपमा पठन पाठन गर्न/गराउन निर्देशन समेत दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शान्ता थापाले अपराध रहित समाजको निर्माण गर्न तयार गरिएको पाठ्यसामाग्रीले समाजमा अपराध न्यूनिकरण गर्न सघाउने बताइन् ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले पछिल्लो १ बर्षमा काठमाडौं उपत्यकाका लगायत देशका बिभिन्न स्थानमा भएका अपराधिक गतिबिधिलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

नगर शिक्षा शाखा प्रमुख पुष्पराज ढकालद्धारा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रममा विद्यार्थीहरुले सांगितिक प्रस्तुति समेत राखेका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायत स्थानिय जनप्रतिनिधीहरु लगायतको उपस्थित रहेको थियो ।


प्रतिकृया दिनुहोस्