काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् ।
आज बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ ७ गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।
यसैगरी रास्वपाले महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणका लागि मौका दिएको छ । उनलाई यसअघि रास्वपाले साधारण सदस्यबाहेक अन्य पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो ।
आजकै बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन भाग लिने निर्णय पनि गरेको छ ।
साथै बैठकले बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।
रास्वपाले भदौ १५ गते कर्णालीमा प्रदेश भेला गर्ने भएको छ । ‘कर्णाली विशेष अभियानअन्तर्गत भदौ १५ गते कर्णालीमा प्रदेश भेला आयोजना गरी संगठन निर्माण र विस्तारलाई निरन्तरता दिने’, कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भदौ महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरूप पार्टी सभापतिको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने पनि सो पार्टीले जनाएको छ ।
असोज ३ गते संविधान दिवसका दिन संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रवक्ता झाले जनाएका छन् । यसबाहेक सो पार्टीले भ्रष्टाचार मुद्दाको हदम्याद, सरकारबाट शिक्षालगायतका क्षेत्रमा भएको राजनीतिकरणको निरन्तरता, असमावेशी मन्त्रिपरिषद् र स्वार्थ बाझिने गरी मन्त्री नियुक्ति, डेडिकेटेड एवं ट्रंक लाइन विद्युतको महसुल उठाउन गरिएको आनाकानी र नीतिगत भ्रष्टाचारका सन्दर्भमा सदनमा सशक्त आवाज उठाउने भएको छ ।