काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासहरू भइरहेको भन्दै त्यस्ता प्रयासहरुलाई सबै मिलेर चिर्नुपर्ने बताएका छन् ।
आज नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको उद्घाटनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्न खोज्ने त्यस्ता प्रयासहरुलाई चिर्न खेलाडीहरुको विशेष भूमिका हुनुपर्ने बताएका हुन ।
उनले अहिले अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिइएको बताए ।
उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने बताए ।
अहिले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।