काठमाडौं, असार २१- आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । खाडीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने भएको हो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका थिए । जसअनुसार कुवेतस्थित नेपाली राजदूतावासले बिहिबार एक सूचना प्रकाशित गर्दै कार्यालयबाट हुँदै आएको कामदार मागपत्र प्रमाणिकरणको कार्य केहि दिनपछि अनलाइन प्रणालीबाट हुने बताएको छ ।
सो प्रयोजनको लागि कुवेतमा भएका रोजगारदाताहरुलाई प्रयोगकर्ता दर्ताको कार्य जुलाई ०७ देखि आधिकारिक वेवसाइट https://demand.nepalconsular.gov.np/ मार्फत शुरु गरिने बताइएको छ । रोजगारदाताहरुले दर्ता गरिसकेपछि दूतावासबाट छिट्टै नै अनलाइन माग प्रमाणिकरण प्रक्रिया शुरु गरिने र सोको जानकारीसमेत प्रकाशन गरिने दूतावासको सूचनामा उल्लेख गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।