काठमाडौं, असार २१- नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले पार्टीको महाधिवेशन सुरु हुँदा भारत भ्रमणमा थिए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने बताउँछन् । एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम समेटिएको छैन । उनी आठ महिनाअघिदेखि नै पार्टीमा सक्रिय नभएको भन्दै अब माधव नेपालको पार्टीमा नबस्ने बताउँछन् ।
“यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन,” आलेले भने, “त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन । यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु ।” बिहीबार मात्र दिल्लीबाट काठमाडौं फर्किएका उनी अहिले आफू स्वतन्त्र भएको बताउँछन् । “म पार्टीको काममा छैन । जनताको काम गर्दै छु । अब म जनताकै काममा बढी समय बिताउनेछु,” आलेले भने ।