Hamro Sanchar

गृहमन्त्री लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा, तोकियो अर्को पेसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ८ गते


Advertisement

काठमाडौं, असार ७- रवि लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गरिएको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

उक्त रिटमा न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासले शुक्रबार दिनभर बहस सुन्दा पनि नसकिएपछि अर्को सुनुवाइ असार १६ गतेलाई सरेको छ ।

यस रिटमा शुक्रबार दिनभरि रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गरेका थिए । अब लामिछानेका वकिलहरूको बहस हुन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधीवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए ।

बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधीवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दाबी गरिएको थियो । सरकारका तर्फबाट उक्त रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको थियो ।


प्रतिकृया दिनुहोस्