Skip

Hamro Sanchar

नगरपालिका र मेयरको घर तोडफोड, प्रहरीद्वारा दर्जनौँ राउण्ड हवाई फायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १ गते


नवलपुर, जेठ ३२- पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले नगरपालिका र मेयरको घर तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।

केहीबेर अघि कावासोती नगरपालिका तोडफोड गरेका स्थानीयहरुले कावासोती बजारमा रहेको मेयर बिष्णु भुसालको घरमा समेत तोडफोड गरेका छन् ।

मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् । कावासोती बजारमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले मेयरको घरमासमेत आगजनीको प्रयास गरेका छन् ।

कावासोती नगरपालिका २ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना, २६ वर्षकी तानमया मगर र ३२ वर्षिया चमेली सिंजालीको बिहीबार ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका वडा नम्बर ५ निवासी हुन् ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको भन्दै स्थानीय छानविन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।


प्रतिकृया दिनुहोस्