काठमाडौं, जेठ ३०- कुवेतको मङ्गाफ भन्ने स्थानमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ ।
त्यहाँको स्थानीय संचारमाध्यम आइमन मतकाअनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् ।
६ तलाको भवनमा १९६ जना कामदार थिए । आगलागीबाट कयौँ घाइते भएका छन् ।
आगलागी बिहान ६ बजेतिर भएको हो । कतिपय मृतकको पहिचान बायोमेट्रिक फिंगरप्रिन्टिङ वा डीएनए फिंगर प्रिन्टिङ प्रयोग गरेर फरेन्सिक प्रमाणबाट गरिने बताइएको छ ।
यसैबीच, कुवेतका लागि भारतीय राजदूत डा. आदर्श स्वैकाले आफ्ना नागरिक उपचाररत अल-अदान अस्पतालमा घाइतेहरुलाई भेटेर राजदूतावासबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए । अदान अस्पतालमा ३० भन्दा बढी भारतीय कामदार घाइते अवस्थमा उपचाररत रहेको बुझिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।