जनकपुरधाम, जेठ ३०- जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
उनका अनुसार, महाधिवेशनको दोस्रो दिन बुधबार बिहानदेखि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । निर्धारित समयमा अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको सुमनले जानकारी दिए ।
त्यस्तै, सहअध्यक्षमा भने तीन जनाको उम्मेदवारी परेको छ । रकम चेम्जोङ, लालबाबु राउत र राजकिशोर यादवले सहअध्यक्षमा उम्मेदवारी दिएका छन् ।
जसपाका नेपालको महाधिवेशन जेठ २८ गते शुरू भएको थियो । आज नेतृत्व चयनका लागि निर्वाचनको कार्यक्रम तय गरिएको छ । अन्य पदमा भने निर्वाचन हुन सक्ने उनले बताए ।