आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतको अरुणाचल आइपुग्यो मनसुन, यो बर्ष नेपालमा छिटो भित्रिने सङ्केत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


Advertisement

काठमाडौं, जेठ १८– यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ ।

भारतमा मनसुन भित्रिएको एक हप्तादेखि १० दिनसम्ममा नेपाल भित्रिने गर्छ । मनसुनी प्रणाली भारतको अरुणाचल प्रदेशमा आइपुगेको छ । अरुणाचल प्रदेशको नागाल्यान्ड, मणिपुर, विजोरमलगायतका ठाउँमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अबको एक हप्तादेखि १० दिनभित्र नेपालमा पनि मनसुन भित्रिने सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए ।

यो वर्ष करिब एक हप्ताअघि नै मनसुन भारतको आसाम भित्रिएकाले नेपालमा पनि एक हप्ताअघि नै मनसुन भित्रिने सम्भावना बढेको छ । मनसुन भित्रिन कम्तिमा एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविदको भनाइ छ ।

अहिले नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरु तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्