काठमाडौं, जेठ १७- सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो ।
नायब महान्यायाधिवक्तामा खेमराज ज्ञवाली र न्याय परिषद्को सचिवमा यमबहादुर बुढा मगरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेललाई जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको भ्रमण पनि स्वीकृत गरेको छ । सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।
त्यस्तै वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको हो ।
तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने निर्णय समेत गरेको हो।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
१. नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने ।
२. राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८१ जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन र सोपश्चात सङ्घीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
३. वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
४. तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने ।