काठमाडौं, जेठ १६- गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो । पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।
भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ । लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग रिटमा गरिएको छ । लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ ।
रिटमा लामिछानेले विभिन्न सहकारीका बचतकर्ताको रकम गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप लगाइएको छ ।
सहकारीमा भएको हिनामिनाबारे छानबिन गर्न मंगलबार संसदीय समिति समेत बनिसकेको छ ।